काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) विनोद कुँवर पक्षले आगामी मार्चमा ११ औँ विश्व सम्मेलन तथा महाधिवेशन गर्ने भएको छ । संयोजक कुँवरको अध्यक्षतामा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको १८ औं बैठकले मार्च २ र ३ मा महाधिवेशन गर्ने मिति टुंगो लगाएको हो । संस्थापन पक्षसँग यसअघि भएको सहमति कार्यान्वयन हुन नसकेको निष्कर्ष निकाल्दै कुँवर समूहले नेपालमै आएर प्रतिनिधिहरुको भौतिक उपस्थितीमै विश्व सम्मेलन गर्ने निर्णय गरेको हो।
केही साताअघि बसेको विशेष साधारणसभाले एकता हुन नसक्ने निष्कर्ष निकाल्दै आफ्नो कार्यहरु अघि बढाउने निर्णय गरेअनुसार नै महाधिवेशनको मिति तोकिएको बताइएको छ ।सचिव कृष्ण सञ्जेलले जारी गरेको विज्ञप्तिमा अन्तराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन सफल रुपमा सम्पन्न गर्नका लागि अध्यक्ष कुँवरको संयोजकत्वमा मूल तयारी समिति गठन गरिएको छ।
यस्तै महाधिवेशन आयोजक समितिका सल्लाहकारहरुमा निर्वतमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घले, निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन, निवर्तमान उपाध्यक्ष सोनाम लामा, पूर्व आइसीसी सदस्य जमुना गुरुङ, पूर्व संरक्षक दिल गुरुङ, सम्पूर्ण वर्तमान सल्लाहकारहरु र सम्पूर्ण मानार्थ परिषद सदस्यहरु रहेका छन् ।
त्यसैगरी आयोजक समितिमा सम्पूर्ण पदाधिकारीहरु, परिषद सदस्य र सबै एनसीसी अध्यक्षहरु समेत रहनेगरी मूल आयोजक समिति गठन गरिएको उनले बताए। समितिका सदस्य सचिवमा कार्यकारी निर्देशक राजेश सम्शेर राणा रहेका छन् ।संघको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि गत विशेष साधारणसभाको निर्णय अनुसार ३ देखि ५ सदस्य रहने गरी एक निर्वाचन समितिको गठन गरिने भएको छ।
निर्वाचन समितिका प्रमुख र सदस्यहरुको नियुक्ति संघका अध्यक्ष र महासचिवले गर्नेगरी निर्णय गरिएको हो । यसैगरी सम्मेलनका लागि आर्थिक ब्यबस्थापन र श्रोत बिकासका लागि उपाध्यक्ष भोमा लिम्बुको संयोकत्वमा समिति गठन गरिएको छ भने उपाध्यक्ष थर्क सेनको संयोजकत्वमा ब्यबस्थापन समिति गठन गरिएको छ।
संघको गत बिशेष साधारणसभाले पारित गरेका परिमार्जित दफा र नियमहरु समेत समेटेर ११ औं महाधिवेशनका लागि एनसीसीहरुको लागि बिधान तथा राष्ट्रिय महाधिवेशन सहज बनाउन निर्देशिका तथा अन्तर्राष्ट्रिय महाधिवेशन संचालन निर्देशिका समेत तयार पार्न उपाध्यक्ष बाबुराम लामाको संयोजकत्वमा समिति गठन गरिएको छ।
यस्तै महाधिवेशन ब्यबस्थापन गर्न महासचिव जानकी गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ। सो समितिले महाधिवेशन प्रतिनिधिहरुको समेत प्रमाणीकरण कार्य गर्ने बताइएको छ । यस्तै संघको महाधिवेशन तथा बिश्व सम्मेलनको लागि प्रचार प्रसार तथा प्रकाशनको लागि सचिव संजेलको संयोजकत्व समिति गठन गरिएको छ। यस्तै सम्मेलनको घोषणा २०२४ जारी गर्नको लागि प्रवक्ता प्रकाश धमलाको संयोजकत्वमा समिति गठन गरिएको छ।
बिशेष साधारणसभा २०२३ ले पारित गरेका परिमार्जित दफा र नियमहरु समेत समेटेर बिधान संसोधनको लागि क्षेत्रिया संयोजक केशब कडेलको संयोजकत्वमा बिधान मस्यौदा समिति गठन गरिएको छ कार्यक्रम ब्यबस्थापन गर्न यूथ एम्बसडर दिपेश खत्रीको संयोजकत्वमा कार्यक्रम ब्यबस्थापन समिति गठन गरिएको छ।