एनआरएनएमा अबको कार्यभार नै आर्थिक क्रान्ति हो : आर• के• शर्मा, अध्यक्षका उम्मेदवार एनआरएनए

काठमाडौं। गैर आवासिय नेपाली संघ(एनआरएनए)का अध्यक्ष पदका उमेदवार आरके शर्मा (राजेन्द्रकुमार शर्मा)ले क्यानडाका गैर आवासिय नेपालीहरुसँग अन्तरक्रिया गरेका छन्। एनआरएनए क्यानडाले आयोजना गरेको अन्तरक्रियामा बर्तमान उपाध्यक्ष समेत रहेका शर्माले संघमा धेरै कार्यभार पुरा भैसकेको भन्दै अबको कार्यभार भनेको आर्थीक क्रान्ती हुने बताएका छन्।

संघको स्थापनाकालदेखी नै एनआरएनए अभियानमा सक्रिय शर्माले अहिलेसम्म संघले गैरआवासिय नागरिकता लगायतका धेरै विषयहरुमा ठुलो उपलब्धी हासिल गरेको भन्दै अब संघले नयाँ चरणमा प्रवेश गर्नुपर्ने र त्यो नयाँ चरण भनेको मुलुकको आर्थिक क्षेत्रमा टेवा पुग्ने गरि काम गर्नु नै रहेको बताए।

त्यसका लागी विश्वभर छरिएर रहेका नेपालीहरुको स सानो पुँजिलाई एकत्रित गरेर नेपालमै विभिन्न परियोजनाहरु खडा गरी रोजगारी सृजना गर्नतर्फ लाग्नुपर्ने बताए। विगत लामो समयदेखी कतार र नेपालमा व्यवसाय सञ्चालन गरि हजारौं श्रमिकहरुलाई रोजगारि दिएका शर्माले हाल मध्यपूर्वमा अत्यन्त ठुलो संख्यामा रहेका न्युन आय भएका नेपाली श्रमिकहरुको पुँजी संकलन गरेर नेपालमा ठुलाठुला योजना निर्माण गरि नेपालमै रोजगारी सृजना गर्न सकिने बताए।

आफुले अध्यक्षमा उमेदवारी दिँदै गर्दा आफ्नो स्पष्ट योजना पनि सोही रहेको उनले स्मरण गराए।त्यसैगरि संघको स्थापना कालदेखी आजसम्म नै मध्यपूर्वले सधैं अन्य देशका एनआरएनएको नेतृत्वलाई सहयोग गरिरहेको र यसपटक मध्यपुर्वले नेतृत्व पाउनुपर्छ भन्नेमा सबै गैर आवासियको मनसाय अनुरुप आफँले अध्यक्षमा उमेदवारी दिएको बताए।

यसका लागी विश्वभर छरिएर रहेका गैरआवासिय नेपालीहरुले सहयोग गर्नेमा आँफु विश्वस्त रहेको शर्माले जानकारी दिए। त्यसैगरि कार्यक्रममा बोल्दै एनआरएनए सहकोषध्यक्ष अभिमन्यु शर्मा,एनआरएनए अमेरिकाका पुर्व उपाध्यक्ष लोक तिवारीलगाएतले शर्माको उमेदवारीमा ऐक्यबद्धता जनाएका छन्।