काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै कार्यकालमा नेपालीहरुले विदेशबाटै नेपालमा मतदान गर्न पाउने व्यवस्था मिलाउने बताउनु भएको छ। संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन अमेरिका पुग्नु भएका प्रधानमन्त्री प्रचण्डले न्यूयोर्क पत्रकारहरुसँग कुराकानी गर्दै मतदानको अधिकारबाट कुनै पनि नेपाली बञ्चित हुन नदिने उदयका साथ विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउने प्रक्रिया सुरु गरिसकेको जानकारी दिनुभयो ।
उहाँले यसका लागी निर्वाचन आयोगलाई निर्देशन दिइसकेको र आयोगले पनि प्रक्रिया अगाडी बढाइसकेको जानकारी दिनुभयो। त्यसका लागी निर्वाचन आयोगका प्रमुख सहितको टोलि विभिन्न देशको भ्रमणमा पुगेको जानकारी दिनुभयो। प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताउनु भयो।
उहाँले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको बताउनु भयो।संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउनु हुनेछ।