काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)ले संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनप्रति दुःख व्यक्त गरेको छ।संघका प्रवक्ताद्धय सोम सापकोटा र शिव बरुवालले एक विज्ञप्ति जारी गर्दै उनको निधनले विदेशमा बस्ने नेपालीहरु अत्यन्त मर्माहत र स्तब्ध भएको जनाएको छ।
संघले विज्ञप्तिमा विशेषतः गैरआवासीय नेपालीका मुद्दाका जानकार, अत्यन्त सहयोगी, विदेशमा बस्ने नेपालीहरुसंग सदैव सदाभाव राख्ने, निकै शालिन र भद्र स्वभावका नेम्वाङको निधनले समग्र नेपाल र नेपालीहरुलाई अपूरणीय क्षति पु–याएको उल्लेख गरेको छ।
संघले गैरआवासीय नेपाली नागरिकताको माग लगायत गैरआवासीय नेपालीका अन्य सरोकार सम्बोधनका लागि उनले निर्वाह गरेको सक्रिय, सन्तुलित र समन्वयकारी भुमिका सदा स्मरण रहने उल्लेख गर्दै भौतिक रुपमा गैरआवासीय नेपालीमाझ नरहेपनि उनको असल कर्म र योगदानलाई संघले सदा सम्झिरहने जनाएको छ।
संघले उनको आत्माको चीर शान्तिको कामना सहित दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ।