एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, शव २ दिन पार्टी कार्यालयमै राखिने

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष तथा संबिधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। गएराती १ बजे आफ्नै निवासमा अचानक हृदयघात भएपछि उहाँलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुग्नासाथ उहाँलाई मृत घोषित गरिएको थियो।

उपाध्यक्ष नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएत राजनैतिक दलका नेताहरु शिक्षण अस्पताल पुगेका छन्। नेम्वाङको शव श्रद्धाञ्जलीका लागि बुधबार सम्म पार्टी कार्यालयमा राखिने बताइएको छ।

Zen Travels - Cheap tickets to Nepal

इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मनु भएको थियो। उहाँ इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आउनु भएको थियो। २०४८ सालदेखि २०५२ सालसम्म उहाँ राष्ट्रिय सभाका सांसद बन्नु भएको थियो।

२०६३ सालमा पहिलोपटक सभामुख बन्नुभएका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बन्नु भएको थियो। पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बन्नुभएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।

नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन्।