जी–२० शिखर सम्मेलन आज सकिँदै, अमेरिका र रुसलाई मनाएर जी–२० घोषणापत्र जारी

काठमाडौं।भारतको नयाँ दिल्लीमा जारी जी–२० को शिखर सम्मेलन आज सकिँदैछ। हिजोदेखी सुरु भएको दुइदिने यो सम्मेलनमा अमेरिका र रुसलाई मनाएर जी–२० घोषणापत्र जारी भएको छ।

घोषणापत्र मुख्यतः बलियो, दिगो, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यमा प्रगतिको गति, दिगो भविष्यका लागि हरित विकास सम्झौता, २१औँ शताब्दीका लागि बहुपक्षीय संस्थाहरू र बहुपक्षवादलाई पुनर्जीवित गर्नेमा केन्द्रित छ। तर जी–२० नेताहरूको वक्तव्यप्रति युक्रेनले निराशा व्यक्त गरेको छ।

Zen Travels - Cheap tickets to Nepal

युक्रेनले वक्तव्यमा नाम किटाएर रूसको प्रत्यक्ष आलोचना नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको हो। युक्रेनविरुद्ध रूसको आक्रमणबारे जी–२० मा गर्व गर्नुपर्ने केही विषय नरहेको युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले भन्नुभएको छ।

यो शिखर सम्मेलनमा युक्रेनमा जारी युद्ध र जलवायु परिवर्तनसँग जुध्ने विषयमा देखिएको मतभिन्नताका विषयलाई थप नखोतल्ने र सकेसम्म धेरै कुरामा सहमति जुटाउनमा नेताहरू सहमत भएका छन्।

जलवायु परिवर्तनको सन्दर्भमा जी–२० ले न्यूनतम साझा बिन्दु खोज्ने प्रयास गरेको छ। तर युरोपेली देश र अमेरिकाले जी–२० लाई युद्धको निन्दा गर्न दबाब दिँदै आएका थिए।