एसिया कप क्रिकेटः श्रीलङ्कासँग पराजित बङ्लादेश प्रतियोगिताबाटै बाहिरियो

काठमाडौं। एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश प्रतियोगिताबाटै बाहिरिएको छ। सुपर फोरमा लगातार दुई खेल हारेको बङ्लादेशको फाइनल पुग्ने सम्भावना सकिएको हो।

बङ्लादेश हिजो भएको दोस्रो खेलमा श्रीलङ्कासँग २१ रनले पराजित भयो। त्यस्तै, पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको थियो। सुपर फोरको अन्तिम खेलमा बङ्लादेशले भारतसँग खेल्नेछ।

Zen Travels - Cheap tickets to Nepal

घरेलु मैदान कोलम्बोमा हिजो भएको खेलमा श्रीलङ्काले बङ्लादेशलाई जितका लागि २ सय ५८ रनको लक्ष्य दिएको थियो। बङ्लादेश ४८ ओभर १ बलमा २ सय ३६ रनमा अलआउट भयो। बङ्लादेशका तोहिड ह्रिदोले सर्वाधिक ८२ रनको पारी खेले पनि टोलीको हार टार्न सकेनन्।

श्रीलङ्काका महेश तिक्ष्णा, दसुन सनका र महिषा पथिरनाले समान तीन/तीन विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको श्रीलङ्काले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो।

श्रीलङ्काका सदिरा समरविक्रमाले ९३ रनको उत्कृष्ट पारी खेले। कुशल मेन्डिस ५० रन बनाएर आउट भए। बङ्लादेशका तक्सिन अहमद र हसन मोहमदले तीन/तीन विकेट लिए।