गैरआवासीय नेपालीले अब डलरबाटै धितोपत्रमा लगानी र भुक्तानी गर्न पाउने

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन (सातौं संशोधन) नियमावली २०८० संशोधन गरेको छ। नियमावली संसोधन भएसँगै अब गैरआवासीय नेपालीले डलरबाटै धितोपत्रमा लगानी र भुक्तानी गर्न पाउने भएका छन् । संसोधित नियमावलीमा सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानी भएको कम्पनीमा डलरमा लगानी गर्न सकिने र भुक्तानी पनि गर्न सकिने उल्लेख छ ।

‘नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा प्राचलित कानुनबमोजिम संस्थापना भएको इन्भेस्टमेन्ट कम्पनीले विदेशी नागरिकता वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीका लागि मात्र नेपाल राष्ट्र बैंकको स्वीकृति लिई पूर्वाधारसम्बन्धी परियोजनामा सेयर, बन्ड र डिबेन्चरमा लगानी गर्न पाउने र विदेशी मुद्रामा समेत भुक्तानी हुने गरी नियमानुसार धितोपत्र निष्कासन गर्न पाउने र विदेशी मुद्रामा सेयर, बन्ड वा डिबेन्चरमा लगानी गर्ने गरी निष्कासन गरिएको धितोपत्रको कारोबार विदेशी नागरिकता प्राप्त वा कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमतिपत्र प्राप्त गैरआवासीय नेपालीबीच मात्र हुनेछ’ संशोधित नियमावलीमा उल्लेख छ ।

Zen Travels - Cheap tickets to Nepal

धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी अन्य व्यवस्था निर्देशिकामा तोकिएअनुसार हुनेछ । नियमावलीमा भएको व्यवस्था कार्यान्वयन गर्न बोर्डले नियमावली बनाउँदा नेपाल राष्ट्र बैंकको सहमति लिनुपर्नेछ । नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता तथा निष्कासन (सातौँ संशोधन) नियमावली, २०८०’ मार्फत हरित ऋणपत्र (ग्रीन बन्ड) सम्बन्धी कानूनी व्यवस्था ल्याएको हो ।

बोर्डले चालु आर्थिक वर्ष २०८०÷८१ को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा हरित बन्डलगायतका नवीन वित्तीय औजार निष्कासन गर्नसक्ने गरी आवश्यक नीति, नियम तथा निर्देशिका संशोधन तथा तर्जुमा गरिनेछ भनी उल्लेख थियो ।

नीति तथा कार्यक्रमको सो व्यवस्था कार्यान्वयनका लागि बोर्डले नियमावलीमा संशोधन गर्दै हरित बन्ड निष्कासनसम्बन्धी कानूनी आधार तयार पारेको हो ।त्यस्तै प्रिमियममा शेयर जारी गर्न सकिने व्यवस्थामा पनि संशोधन गरिएको छ ।