काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले चीनले नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको भन्दै चीन भ्रमण रद्ध गरेका छन्।
चीनले पछिल्लो समय सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेकोप्रति आपत्ती जनाउँदै मेयर बालेनले चीन भ्रमण रद्द गराएको जानकारी गराएका छन्। चीनको निमन्त्रणामा उनी ५ दिने भ्रमणमा चीन जाँदै थिए।
चुच्चे नक्सा झिकेर बुच्चे नक्सालाई कायम राख्नु नेपालीको संवदेशनशीलतामाथि चालेको गलत कदम बताउँदै मेयर साहले नैतिकताको आधारमा चीन भ्रमण रद्ध गरेको फेसबुकबाट जानकारी गराएका छन्।
’हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं। नेपाली भू–भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं। त्यसैले आज मेरो,चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु,’उनले फेसबुकमा लेखेका छन्।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले नेपालको चुच्चे नक्सालाई हटाएर पहिलेको बुच्चे नक्सा कायम गरी नेपालको नक्सा सार्वजनिक गरेको छ।