काठमाडौं।गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिसद(एनआरएनए आइसीसी)को उपाध्यक्ष पदमा राज रेग्मीले उम्मेदवारी घोषणा गरेका छन्। आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनका लागि वर्तमान युवा उपाध्यक्षसमेत रहेका रेग्मीले उपाध्यक्षमा उमेदवारी दिएका हुन्। रेग्मीले एनआरएनएमा युवा सहभागिता र उद्यमशिलता बढाउने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन् ।
कतारमा रहेर एनआरएनए अभियानमा सक्रिय रेग्मी संघमा मध्यपूर्व युवा संयोजक हुँदै आइसीसी युवा उपाध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका रेग्मीले आगामी कार्यकालका लागी उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । कतारमा सफल व्यवसायी र समाजसेवीको रुपमा परिचित रेग्मी संघमा हालसम्म आफूले प्राप्त गरेको अनुभव, अग्रजहरुको आग्रह उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताउँदै संघमा आफुले केही योगदान दिने इच्छाअनुसारको निर्णय लिएको बताए ।
रेग्मीले एनआरएनएमा युवापुस्ताका मुद्धालाई स्थापित गर्न, दोश्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्न, विदेशमा रहेका श्रमिकहरुको आवाज बुलन्द बनाउन अत्यावश्यक रहेको र त्यो क्षमता आफुमा रहेको बताएका छन् । यसअघि पनि विश्वभर रहेका दोश्रो पुस्ताका युवालाई लक्षित गरेर ‘ग्लोवल एनआरएन सिंगिङ आइडल’को आयोजना गरिरहेका रेग्मीले दोश्रो पुस्तालाई एनआरएनमा जोड्ने विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
आँफु यो अभियानमा केही लिन नभै केही दिन आएको बताउँदै सामुहिक लगानीमा युवाहरुको सहभागिता, युवा स्वरोजगार, सीप र पूँजीको व्यवस्थापन, सुरक्षित र मर्यादित वैदेशिक रोजगारी, राहत कोष स्थापना, नेपाली कला सँस्कृतिको जगेर्ना, मतदानका लागि पहल गर्ने, स्मार्ट र वैज्ञानिक एनआरएनए बनाउने लगायतका प्रतिवद्धता व्यक्त गरेका छन् ।
रेग्मीले केही दिनमा औपचारिक कार्यक्रम गरेर आफ्ना प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गर्ने बताउँदै आफ्नो उमेदवारीलाई स्वीकारेर आवश्यक सुझावसहित अमुल्य मत दिएर निर्वाचित बनाउन सहयोग गर्न पनि सम्पुर्ण गैरआवासिय नेपालीहरुमा अपिल गरेका छन् ।