८ वर्षपछि खुल्यो तातोपानी नाका

काठमाडौं। चीनसँगको तातोपानी नाका आजदेखि खुलेको छ। नेपाल र चिनियाँ अधिकारीको समझदारी पछी नाका ८ वर्षपछि आजबाट मानव आवतजावतको लागि सञ्चालनमा आएको हो। २०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो ।

दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो । तर, कोरोनाभाइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो ।

कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन । सिन्धुपाल्चोकको भोटेकोशीका गाउँपालिकाका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर आज बिहान नाका खोलिएको हो । लामो समयपछि चिनियाँ क्षेत्रमा प्रवेश गर्न पाउँदा स्थानीय खुशी भएका छन् ।

नेपाल र चीन दुबै देशका अधिकारीबीच भएको समझदारीमा नाकाबाट यात्रुहरुको आवतजावत खुला गर्ने भनिए पनि तत्कालका लागि भने स्थानीयका लागि मात्रै नाका खुल्ला गरिएको हो ।

त्यसका लागि तातोपानीको पारिपट्टीको चिनियाँ बजारसम्म पुग्नका लागि तातोपानीस्थित अध्यागमन कार्यालयले पासको व्यवस्था गरेको छ। कोदारीस्थित अध्यागमन कार्यालयका अनुसार चिनियाँ भूमिमा प्रवेशका लागि आजसम्ममा २ सय २७ वटा पास जारी गरिएको छ । सो पासले सीमापारी ३० किलोमिटर क्षेत्रसम्म नेपालीहरुले जान पाउने छन् ।