रवि लामिछाने र रास्वपा फेसबुकबाट जन्मेर फेसबुकमै सिमितः मिन विश्वकर्मा

काठमाडौं। नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले रवि लामिछाने र उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फेसबुके पार्टी भएको टिप्पणी गरेका छन् । रास्वपा सामाजिक सञ्जालमा जन्मिएको पार्टी भएको र सामाजिक सञ्जालमा मात्रै सिमित रहेको दाबी गरेका छन् । मंगलबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकीर समेत गरे ।

उनले भने, ‘समाजबाट जन्मिएका पार्टीहरु समाजमै छन्। सामाजिक सञ्जालबाट बनेका पार्टीहरु अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाई छ। यति फरक छ, हाम्रो पार्टी समाजमै छ। र, केही पार्टी सामाजिक सञ्जालमा छन्। यसलाई हामीले यसरी बुझेका छौं। हामीले के बुझेका छौं भने प्रचारबाजीबाट मात्रै जाने कि वास्तविक जनतासँग काम गर्न जाने? यसैका लागि हामीले के भन्यौं भने अव यो घिउजस्तै चिज बेच्ने कि वास्तविक घिऊनै बेच्ने भन्ने कुरा हो। घिउ जस्तै बेचेका साथीहरुसँग हामी वास्तविक घिउनै लिएर जनतामा जाने हो ।’

त्यस अवसरमा नेता विश्वकर्माले कांग्रेसलाई ‘घिउ’ र रास्वपालाई ‘घिउको वासना’ सँग तुलना समेत गरेका थिए । नेता विश्वकर्माले जनताको बीचमा गएर काम गरेको हुनाले नै अहिले पनि कांग्रेस मुलुकको सबैभन्दा ठूलो दल बन्न सफल भएको बताए ।