यूएईमा अलपत्र नेपालीलाई एनआरएनएले गर्यो उद्दार

काठमाडौँ।गैरआवासीय नेपाली संघ(एनआरएनए)ले यूएईमा अलपत्र परेका एक नेपालीलाई उद्दार गरेको छ। रोजगारीका लागी युएई पुगेर अलपत्र परेका धनकुटाका कमल बहादुर घिमिरेलाई उद्दार गरेर एनआरएनए यूएईले स्वदेश पठाएको छ।

धनकुटाको बोक्रे ५ छत्र जोरपाटीका घिमिरेले १८ महिनाअघि जागिर चेन्ज गर्ने क्रममा नयाँ कम्पनीले अफर लेटर दिएपछि पुरानो कम्पनीमा राजिनामा दिएका थिए। तर नयाँ कम्पनीले भिषा नदिएसम्म कम्पनी छोड्न नमिल्ने भन्दै भिषा क्यान्सिलेसन र पासपोर्ट नदिएर ब्याकलिस्ट हालिदिएपछि उनी समस्यामा परेका थिए।

हालै उनले खानबस्नको समेत समस्या परेकाले नेपाल पठाइदिन अनुरोध गरेपछि आवश्यक व्यवस्था मिलाइएको एनआरएनए यूएईका उपाध्यक्ष तथा राहत उद्वार समिति संयोजक भिम मल्ल ठकुरीले जानकारी दिएका छन्।

उनको पासपोर्ट लस्टको पुलिस रिपोर्ट तयार गर्नुका साथै नेपाली राजदूताबासबाट ट्राभल डकुमेन्ट बनाएर आइतबार हिमालयन एयरलाईन्सबाट नेपाल फर्काउने व्यवस्था गरेको उनको भनाइ छ। घिमिरेलाई नेपाल पठाउने प्रकृयामा लागेको सम्पूर्ण खर्च एनआरएनए यूएईले बेहोरेको छ।