एनआरएनएको ११ औं विश्व सम्मेलन राष्ट्रपतिले उद्घाटन गर्ने, यस्तो छ कार्यक्रमको तालिका…

काठमाडौं। गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११ औं विश्व सम्मेलन राष्ट्रपति रामचन्द्र पौडेलले उद्धघाटन गर्ने निश्चीत भएको छ। एनआरएनएका कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यहितको टोली राष्ट्रपति रामचन्द्र पौडेलसँग विहिवार भेटमा सम्मेलनको उद्घाटन सत्रका लागि निमन्त्रणा दिइएको थियो ।

संघको ११ औँ महाधिवेशन तथा विश्व सम्मेलन अक्टोवर १७ देखी २० सम्म काठमाण्डौंमा हुँदैछ।भेटका अवसरमा संघका कार्यकारी अध्यक्ष डा केसीले सम्मेलनको तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका पछि राष्ट्रपतिपौडेलले सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाएका थिए। सो छलफलमा हाल निर्माण भइरहेको नियमावलीलाई एनआरएनमैत्री बनाउने प्रयास भइरहेको जानकारी दिइएको थियो।

अध्यक्ष आचार्यले यथाशक्य छिटो उक्त नियमावली ल्याउनका लागि पहल गरिदिन समेत राष्ट्रपति समक्ष अनुरोध गरे। गैरआवासीय नेपाली संघको परम्परा अनुसार संघको विश्व सम्मेलनको उद्घाटन सत्रमा राष्ट्रपति र समापन समारोहमा प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ।सम्मेलनमा ५९ देशका ४ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने भएका छन्।

महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको दर्ता बुधवारदेखि सुरु भएको छ। संघको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन असोज ३० देखी कार्तिक ३ गते (१७–२० अक्टोबर)सम्म हुदैछ। प्रतिनिधिहरुको अन्तिम नामावली अगष्ट ३१ तारिखमा प्रकाशन गरिनेछ। महाधिवेसनमा ६४ पदको लागि निर्वाचन गर्ने संघको तयारी रहेको छ ।