काठमाडौं। गैरआवासीय नेपालीहरुले भैरहवामा रहेको टाइगर प्यालेस पाँचतारे रिसोर्ट खरिदको घोषणा गरेका छन। अमेरिकामा हायात,होलिडे इनलगायतका चेन होटलहरु संचालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी,युकेमा होलीकाउ लगाएत संचालन गरिरहेका एनआरएनए अध्यक्ष कुल आचार्य,महासचिव केशव पौडेल,एनआरएनए क्यानडाका अध्यक्ष दीपक गौतम लगायत एनआरएनएको समुहले उक्त रिसोर्ट खरिद गरेको हो।
सुवेदी अध्यक्ष रहेको अमेरिकन कम्पनी हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो। सुवेदीसहितको एनआरएनए समूहले सिल्भर हेरिटेजको शेयर विदेशमै खरिद गरेपछि रिसोर्टको स्वामित्व हिमालयन टाइगर कम्पनीमा सरेको छ।
कम्पनी खरिदपछी केही विवादहरु सृजना भएपछी खरिदकर्ता कम्पनीले बुधवार पत्रकार सम्मेलन नै गरेर आफ्नो आधिकारीक भनाई सार्वजनिक गरेको छ। विदेशमा शेयर खरिद बिक्री गरिएपनि टाइगर प्यालेस रिसोर्ट खरिदबापत सरकारलाई लाग्ने सम्पुर्ण करहरु तिर्न तयार रहेको अध्यक्ष बुद्धिसागर सुवेदीले उक्त पत्रकार सम्मेलनमा जानकारी दिएका छन।
गैरआवासीय नेपाली सुवेदी सहितको टिमले रिसोर्ट विदेशमै खरिद गरेपछि त्यसबापत तिर्नुपर्ने कर सरकारलाई नदिएको भन्ने आरोप लागीरहेको बेला उनले बुधबार पत्रकार सम्मेलन गरेर कर तिर्न कुनै कसुर बाँकी नराख्ने बताए। टाइगर प्यालेस रिसोर्टका अध्यक्ष सुवेदीले कानुनमा उल्लेख भएका सम्पूर्ण दायित्वहरु बहन गर्नका लागि आफू र आफ्नो टिम तयार भएको र उक्त जानकारी कर कार्यालयलाई दिइसकेको पनि बताएका छन्।
प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमासमेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने सूचना पाएपछि हामी विदेशमा बस्ने गैरआवासीय नेपालीहरुले सिल्भर हेरिटेज लिमिटेडमा भएको सबै सेयरहरु खरिद गरेको सञ्चालक दिपक गौतमले बताए ।अष्ट्रेलियन कम्पनीले रिसोर्ट सञ्चालन तथा क्यासिनो व्यवसाय गर्ने सिलसिलामा नेपालमा करिब ५ अर्ब रुपैया लगानी गरेको थियो ।
रिसोर्टको बैकको ऋणमात्रै साढे २ अर्ब रुपैयाँ बाकी रहेको छ। रिसोर्टको लगानीकर्ता अष्ट्रेलियन कम्पनी आफैँ आर्थिकरूपमा धरासाही ऋण लगानीकर्ताले रिसभरहरु नियुक्त गरेको थियो। बैंकहरुको ऋणको बोझ थाम्न नसक्ने अवस्थामा पुगेको अवस्थामा अष्ट्रेलियन कम्पनीले सिल्भर हेरिटेज लिमिटेडमार्फत नेपालमा गरेको लगानी र नेपालको व्यवसाय समेतलाई हेरी १ करोड ५० लाख अमेरिकी डलरमा कारोबार भएको सो अवसरमा जानकारी गराइयो।
अमेरिकामा खडा गरिएको लगानी कम्पनीमार्फत अष्ट्रेलियन कम्पनीको सेयर खरिद गरेको भए पनि यस कारोबारबाट नेपालमा कुनै करको दायित्व सृजना भएमा प्रचलित कानून बमोजिम लाग्न सक्ने कर राजस्वको दायित्व कानुनले दिएको म्यादभित्र बुझाउनेसमेत अध्यक्ष सुवेदीले प्रतिबद्धता जनाएका छन ।