काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रतिनिधी मण्डल र निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाबिच भेटवार्ता भएको छ। एनआरएनए कार्यकारी अध्यक्ष डा बद्री केसीको नेतृत्वमा प्रतिनिधिमण्डलले निर्वाचनमा आयोगमै पुगेर थपलियासँग भेट गरेको हो।
भेटमा संघका अध्यक्ष केसीले विदेशमा रहेका नेपालीको मताधिकारको अधिकार कार्यान्वयनमा भइरहेको गतिविधीमा चासो व्यक्त गरेका थिए।जवाफमा थपलियाले विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलनको प्रक्रिया सुरु भएको र विदेशमै गएर नामावली संकलनको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी दिए ।
आयोगले सम्बन्धित देशका सरकारी निकायसहित गैरआवासीय नेपालीसँग पनि सहकार्य र समन्वय गरेर मतदाता नामावली संकलन गर्ने भन्दै थपलियाले त्यसका लागि एनआरएनले पनि सहकार्य, समन्वय र सहजीकरण गर्नुपर्ने बताए। नामावली संकलन लगायतका लागि आवश्यक कानूनसहित केही आन्तरिक तयारी पूरा गरी आयोगले छिट्टै बाँकी काम सुरु गर्ने उनको भनाई थियो।
सो अवसरमा संघका कार्यकारी अध्यक्ष केसीले संघका विभिन्न देशस्थित राष्ट्रिय समन्वय परिषद् र एनआरएनका प्रतिनिधि तथा अभियन्तामार्फत आयोगको काममा सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाए। भेटमा आयोगका उपसचिव सूर्यप्रसाद गौतम ,संघका प्रवक्ता सोम सापकोटा र सरोज दाहालको उपस्थिति रहेको थियो।