काठमाडौँ। कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । मंगलबार परिक्षाको नतिजा सार्वजनिक भएको हो । यसवर्ष परीक्षा दिएका कुल विद्यार्थीमध्ये करिब ५१ प्रतिशतमात्रैले स्नातक पढ्न पाउने भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ५०.९१ प्रतिशत विद्यार्थी स्नातक तह पढ्न योग्य ठहरिए भने बाँकी ४९ प्रतिशत उच्च शिक्षा पढ्न अस्वीकृत भएका छन् ।
गत वैशाख २६ देखि जेठ ५ सम्म देशभर सञ्चालित परीक्षामा नियमिततर्फ ३ लाख ७२ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी थिए । तीमध्ये १ लाख ८९ हजार ७ सय ११ जनालाई उच्च शिक्षामा भर्ना हुने बाटो खुलेको छ । १ लाख ८२ हजार ९ सय २६ जना अर्थात् ४९.०९ प्रतिशत नन्ग्रेडिङ (एनजी) मा परेर तत्काल उच्च शिक्षामा भर्ना हुन रोकिने भएका छन् । तर नन्ग्रेडिङमा परेकामध्ये पनि १ लाख २३ हजार ३ सय विद्यार्थीले भने असोज ६ र ७ गते हुने ग्रेड वृद्धि (पूरक वा मौका) परीक्षामा सहभागी हुन पाउने छन्। ती विद्यार्थीले न्यूनतम ग्रेड प्राप्त गरे उच्च शिक्षामा भर्ना हुने बाटो उनीहरूलाई यसपालि नै ढिला गरी खुल्नेछ । असोजमा ग्रेड वृद्धि दिन पाउनेमध्ये ७९ हजार जना एउटामात्रै विषयमा एनजीमा परेका छन् ।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार प्रत्येक विषयको सैद्धान्तिक (लिखित) तर्फ कम्तीमा ३५ प्रतिशत प्राप्तांक प्राप्त गरे मात्र विद्यार्थी स्नातक तहमा भर्ना हुन योग्य मानिन्छन् । पुनः अर्को वर्ष ग्रेड वृद्धि परीक्षा दिनुपर्ने गरी उच्च शिक्षामा भर्ना हुन बाटो अवरुद्ध भएका विद्यार्थीको संख्या ५९ हजार ६ सय २६ जना छ । गत वर्ष यस्ता विद्यार्थी ५७ हजार मात्रै थिए। आगामी असोजमा ग्रेड वृद्धि परीक्षामा सहभागी विद्यार्थीले पनि न्यूनतम ३५ प्रतिशत ग्रेड प्राप्त गर्न नसके उनीहरूको पनि स्नातकमा भर्ना हुने बाटो यसपालिलाई बन्द नै रहन्छ ।
गत वर्षभन्दा कक्षा १२ को परीक्षाको नतिजामा सामान्य सुधार भएको तथ्यांकले देखाउँछ। गत वर्ष ४८.१० प्रतिशत विद्यार्थी स्नातकमा भर्ना हुन योग्य भएका थिए। यस पटक ५०.९१ प्रतिशत विद्यार्थी स्नातकमा भर्ना हुन योग्य भएका हुन्। यस आधारमा २.८१ प्रतिशत बिन्दुले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जनाए। गतवर्ष कक्षा १२ को परीक्षा दिने विद्यार्थीको कोभिड महामारीका कारण पठनपाठन बिथोलिएको थियो भने यसपालिका विद्यार्थी नियमित कक्षा सञ्चालनमा सहभागी भएका हुन्।
यो वर्षको नतिजाअनुसार ३.६१ देखि ४ जीपीए ल्याउने ६ हजार ९ सय ७६ जना (१.८७प्रतिशत रहेका छन्। ३.२१ देखि ३.६० ल्याउने विद्यार्थीको संख्या ३८ हजार ९ सय ९९ जना (१०.४७ प्रतिशत)छ। गत वर्षको तुलनामा यो २.१७ प्रतिशतले बढी हो। जीपीए २.८१ देखि ३.२० ल्याउने ६९ हजार १ सय ७४ जना रहेका छन्। त्यस्तै २.४१ देखि २.८० जीपीए प्राप्त गर्ने ६३ हजार ७७ जना रहेको नतिजामा उल्लेख छ। २.०१ देखि २.४० जीपीए ११ हजार ४ सय ३८ जनाले ल्याएका छन्। सबैभन्दा तल्लो १.६१ देखि २.० जीपीए प्राप्त गर्ने ४७ जना विद्यार्थी रहेका छन्।
बोर्डले नियमितसहित ग्रेड वृद्धि र आंशिक परीक्षाको समेत नतिजा सार्वजनिक गरेको हो। आंशिकतर्फ करिब ६२ हजार र ग्रेड वृद्धितर्फ १४ हजार परीक्षार्थी थिए। आंशिकतर्फको विद्यार्थी उत्तीर्ण प्रतिशत साढे २९ मात्रै रहेको बोर्डले जनाएको छ। यसपालि दुई विषयसम्म नन्ग्रेडमा परेर असोजमा ग्रेड वृद्धि परीक्षा दिन पाउने विद्यार्थीलाई बोर्डले भदौ २२ गतेभित्र आवेदन दिन सूचित गरेको छ। नतिजामा चित्त नबुझेका विद्यार्थीले १५ दिनभित्र पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।