काठमाडौं। तस्करीको अबैध क्विन्टल सुनको बास्तविक तौल सार्वजनिक भएको छ। टक्सार विभागमा हिजो गालिएको सुन जम्मा ६० किलो ७१६ ग्राम मा झरेको छ। हिजो पूर्णरुपमा गालेर त्यसको जर्ती निकालिएको थियो। अब सुनको गुणस्तर मापन गरिनेछ।
“हंगामा मच्चाएको सुन तस्करी काण्डमा हामीले ल्याउँदा १५५ किलो भएकोमा ब्रेक सु र कार्टुनबाट निकाल्दा ६० किलो ७७९ ग्राम भएको थियो,” विभागका निर्देशक थानेश्वर आचार्यले भने,“आज गालेर सकिएको छ। ६० किलो ७१६ ग्राम तौल आएको छ। ३४ वटा बिस्कुट बनेका छन्।”
साउनको २ गते राजश्व अनुसन्धान विभागको टोलीले हङकङबाट ल्याइएको ब्रेक सु मा सुन ल्याइएको सूचना पाएपछि छापा मारेको थियो। त्यसमा करिब क्विन्टल सुन ल्याइएको अनुमान गरिएको थियो। विभागको टोलीले सुरक्षितरुपमा राष्ट्र बैंकको टक्सारमा राखेको थियो।
सोमबार ब्रेक सु बाट सुन निकालिएको थियो। भने आज सुन गालिएको थियो। राजश्व अनुसन्धान विभाग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो,राष्ट्र बैंकलगायतका प्रतिनिधि राखेर सुन निकाल्ने र गाल्ने काम गरिएको थियो।