काठमाडौँ : १०० किलो सुन तस्करी प्रकरणमा कार्गो सञ्चालकहरु पनि मुछिएका छन्। उक्त प्रकरणमा संलग्न देखिएपछि राजस्व अनुसन्धान विभागले आज साँझ थप तीन जनालाई पक्राउ गरेकाे छ।
विभागका महानिर्देशक नवराज ढुंगानाले पक्राउ परेका तीन जना कार्गो कम्पनीसँग सम्बद्ध रहेका बताए। उनीहरुले रेडी ट्रेड प्रालिको सामानहरु यसअघि पनि ल्याउने र पुर्याउने गरेको खुलेको छ।
यो सँगै दुई दिनदेखि चलाइएको अपरेशनमा १० जनालाई पक्राउ गरिएको उनले जानकारी दिए। पक्राउ परेकामा ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्कर भट्ट, एलिस ट्रान्सका सञ्चालक राजन श्रेष्ठ तथा अर्का एक जना रहेका छन्।
यसअघि आज दिउँसो विमानस्थलबाट चीनतर्फ प्रस्थान गर्न लाग्दा चिनिया नागरिक जेयुङ लिन पक्राउ परेका थिए। त्यसअघि बुधबार सुन ओसारपसारमा संलग्न ट्यक्सीका चालक अशोक राना मगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दीलिप भूजेल, सहयोगीहरु हर्कराज राई, रामकुमार भूजेल र थुक्पिन छिरिङ पक्राउ परेका थिए।
उनीहरु छ जनामाथि अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको र बाँकी ४ जनाको हकमा भोलि म्याद लिइने जनाइएको छ।
हिजो बुधबार हङकङबाट स्कुटरको ‘ब्रेक शु’को आवरणमा भित्राइएको करिब एक सय किलो सुन राजस्व अनुसन्धान विभागले सिनामंगलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। बरामद सुनकाे तौल लिनका लागि राष्ट्र बैंकको टक्सार महाशाखामा पठाइएको छ।




