अवैध सुन प्रकरणः अनुसन्धान टुँगोमै पुराएर छाड्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौ। उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पछिल्लो सुन प्रकरणको अनुसन्धान स्वतन्त्र, निष्पक्ष र निष्कर्षमा पुग्ने गरी हुने बताउनुभएको छ । उहाँले यस्ता घटनाहरूबारे प्रधानमन्त्री र आफूले दोषीलाई कारबाहीको दायरामा ल्याउन र निर्दोष नफसून् भनेर यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि स्मरण गराउनुभयो ।

बिहीवार सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा सुरक्षा निकायका पूर्व उच्च अधिकारीहरूसँगको छलफलपछि गृहमन्त्री श्रेष्ठले दोषीलाई छिट्टै कानुनको दायरामा ल्याउने गरी अनुसन्धानको कामलाई अघि बढाइएको बताउनुभयो । उहाँले अध्यागमन विभागमा प्रहरीको उपस्थितिलाई सुनिश्चित गर्ने विषयमा आफूले यसअघि पनि छलफल गरेको र त्यसलाई छिट्टै निष्कर्षमा पुर्‍याउने आश्वासनसमेत दिनुभयो । अर्थ मन्त्रालयसँग समन्वय गरेर त्यो कामलाई अघि बढाउने श्रेष्ठको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘पछिल्लो सुन प्रकरणको अनुसन्धानलाई हामी गम्भीरतापूर्वक अगाडि बढाउँछौँ। सम्बन्धित निकायलाई हाम्रो स्ट्यान्डबाई निर्देशन छ । प्रधानमन्त्रीको पनि स्ट्यान्डबाई निर्देशन छ। जुनसुकै निकायले अनुसन्धान गर्नुपर्ने भए पनि, जुनसुकै घटना भए पनि निर्दोष नफसून्। यो घटनाको अनुसन्धान स्वतन्त्र,निष्पक्ष र निष्कर्षमा पुग्ने गरी होस्। दोषीलाई कानुनको दायरामा ल्याउने गरी अनुसन्धान होस् भन्ने हाम्रो स्ट्यान्डबाई निर्देशन छ।’

गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालयको समग्र क्षेत्रको पुनर्संरचना गरेर सुशासन कायम गर्नका लागि आफूले एउटा कार्यदल नै बनाउने घोषणा गरिसकेको पनि दोहोर्‍याउनुभयो। उहाँले कार्यदलअन्तर्गत उपकार्यदलसमेत बनाएर मन्त्रालयको कामलाई प्रभावकारी बनाउनुपर्नेमा आफूले शुरुदेखि नै जोड दिएको दाबीसमेत गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयअन्तर्गत ल्याउने विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।