प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेतृ डा. डिला संग्रौलाद्वारा लिखित कांग्रेसको अबको बाटो नामक पुस्तकको विमोचन गरेका छन् ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले उक्त पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त किताबको माध्यमबाट नेपाली कांग्रेसलाई आगामी दिनमा कुन बाटोबाट अगाडि बढ्ने भन्ने कुरामा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै किताबमा उल्लेखित राम्रा पक्षहरुलाई कांग्रेसमा लागू गर्न पहल गर्ने बताए । प्रधानमन्त्री देउवाले लेखक संग्रौलाले महिला हकहितको लागि सदैव आवाज उठाएकाले कांग्रेसको लोकप्रिय नेतृ बन्न सफल भएको भन्दै लेखक संग्रौलाको प्रशंसा समेत गरे ।
त्यस्तै, लेखक संग्रौलाले राष्ट्रियता, प्रजातन्त्र र लोकतन्त्रको मूल मर्ममा टेकेर कांग्रेस भित्रका कमी कमजोरीलाई केलाउँदै पार्टीलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा पाटी पंक्तिभित्र तथा बाहिर व्यापक बहस सिर्जना गर्ने उदेश्यले उक्त पुस्तक लेखेको बताइन् । संग्रौलाले १४ औँ महाधिवेशनमा उक्त पुस्तकलाई एजेण्डा बनाएर लैजाने लक्ष्य लिएको जानकारी समेत दिइन् ।
कांग्रेसको संक्षिप्त परिचय, सैद्धान्तिक स्पष्टता, कांग्रेसको अबको बाटो, जनताले हेर्न चाहेको कांग्रेस र १४ औँ महाधिवेशनको एजेण्डाहरु लगायत आठ उपशीर्षकमा पुस्तक बाँडिएको उनले जानकारी दिइन् ।





