काठमाडौँ। आजदेखी नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ। यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने समितिले जनाएको छ।
समितिका अध्यक्ष श्री कृष्ण अधिकारीले कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउने भएकाले आजदेखि यमपञ्चक सुरु भएको बताउनुभयो। उहाँका अनुसार सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयाअर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।
कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताउनुभयो । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।
भाइटीका कात्तिक २९ गते १०ः५१ बजे उत्तम
यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १०ः५१ बजे रहेको समितिले जनाएको छ । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनु पनि शास्त्रसम्मत नै हुने समितिले जनाएको छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन सकिने छ ।




