मकवानपुरमा पहिरोमा परेर एकको मृत्यु, ६ जना बेपत्ता

मकवानपुर। मकवानपुरको बागमती गाउँपालिका–५,सिग्रेमा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ। तीन बालबालिकासहित ६ जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वाग्मती–५,सिग्रे देभानका अक्कलबहादुर स्याङतानको घर पहिरोले पुरिएको हो। पहिरोमा परी ज्यान गुमाउनेमा अक्कलबहादुरकी श्रीमती ५५ वर्षीया सन्तमाया स्याङतान रहेको प्रहरीले जनाएको छ ।

अक्कलबहादुर, उनकी छोरी शिला स्याङतान, ज्वाइँ जीवन पहरी, नाति चार वर्षीय मिलन पहरी, डेढ वर्षीया नातिनी दिव्या पहरी र पाहुना सिन्धुलीको हरिहरपुरका १६ वर्षीया पासाङ पहिरोमा पुरिएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगेर उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।