काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को आगामी कार्यकालका लागि अब्दुल बासिदले युवा उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन। वर्तमान युवा संयोजकसमेत रहेका बासिदले उम्मेदवारी घोषणा गरेका हुन्।
उमेदवारीसँगै उनले आफ्ना एजेण्डा पनि तय गरेका छन्। उनका एजेण्डामा एनआरएनएमा युवा सहभागिता बढाउनु, संस्थाको दीगो सफलता, श्रमको सम्मानसहित विदेशको सीप, पुँजी र ज्ञान नेपाल भित्र्याउने तथा समृद्ध नेपालमा एनआरएनएको सहभागितालगाएत रहेका छन् ।
कतारलाई कार्यक्षेत्र बनाएर लामो समयदेखी एनआरएनएमा योगदान दिएका बासिद सफल व्यवसायी मानिन्छन्। एनआरएनए युवा संयोजक हुँदा ब्रिटिश कम्पनी ‘बेलाको’ होम अप्लाइन्स भित्राएका बासिदले सयौं नेपालीलाई रोजगारी सृजना गरेका छन् ।
एनआरएनएका विभिन्न तह र तप्कामा रहेर कुशलतापूर्वक जिम्मेवारी निभाइसकेका बासिदले एनआरएनए अभियानमा लागिरहँदा युवापुस्ताका मुद्दालाई स्थापित गर्न, दोस्रो पुस्ताका नेपालीलाई एनआरएनएमा आकर्षित गर्ने, विदेशमा रहेका श्रमिकको आवाज बुलन्द बनाउने प्रतिबद्धता सार्वजनिक गरेका छन्। मूल एजेण्डासहित आफ्नो उमेद्वारीको विषेश समारोहमै औपचारीक घोषणा गर्ने उनको भनाई छ ।
उनले युवा स्वरोजगार, सामूहिक लगानी, सीप र पूँजीको सदुपयोग, एनआरएनएमा युवाहरुको आकर्षण बढाउने, सुरक्षित र मर्यादित बैदेशिक रोजगार बनाउन पहल गर्ने, एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दीर्घकालीन योजनासहित स्थापित गराउनेलगायतका प्रमुख उदेश्य रहेको भने बताइसकेका छन् ।