मलेसिया, गैरआवासीय नेपाली संघ (एनआरएनए)का केन्द्रीय उपाध्यक्ष धर्मराज अधिकारीले एनआरएनए आइसीसीको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने समय आइ नसकेको भएपनि आफू अब्बल नेतृत्वका लागि सक्षम भएको दावी गरेका छन ।
एनआरएनए मलेसियाको आठौं राष्ट्रिय महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै अधिकारीले अहिले धमाधम एनसीसीले नेतृत्व चयन गरिरहेको हुँदा आइसीसीका लागि उम्मेदवारी घोषणा गरिहाल्ने समय नभएको बताएका हुन । तर, उनले आइसीसीका लागि सक्षम नेतृत्व गर्ने क्षमता आफूमा भएकाले त्यसका लागि तयार भएको संकेत दिएका छन्।
‘अझै हल्ला गर्ने बेला भएको छैन । एनसीसीको चुनाव सकिएको छैन उनले भने,म पनि योग्य र सक्षम छु । अबको नेतृत्व हाँक्न सोचाइ र योजनाका हिसाबले तयार छु।एनआरएनए मलेसियाले सर्वसम्मत नेतृत्व चयन गरेकोमा उनले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए ।
वैदेशिक रोजगारमा रहेका नेपालीले देशको अर्थतन्त्रमा गरेको योगदानको चर्चा गर्दै अधिकारीले खाडी तथा मलेसियामा कार्यरत नेपालीको समस्यालाई एनआरएनएले पहिलो प्राथमिकता राखेको बताए।उनले भने ‘म अष्ट्रेलिया बस्ने भएता पनि नेपाली पासपोर्ट नै बोकिरहेको छु। नेपालीहरुको शुखदुखमा म सदैव नजिक छु।’
वैदेशिक रोजगारमा रहेका नेपालीहरुका ल्याइएको सामाजिक सुरक्षा कोष र खाडीबाट ल्याइएको हजारे अभियान फरक रहेको उनले बताएका छन्।विकसित देशमा हुने सामाजिक सुरक्षा योजना फरक हुन्छ। त्यसलाई हजारे अभियानसँग जोड्न मिल्दैन’, उनको भनाइ थियो।उनले खाडी तथा मलेसियामा काम गर्ने श्रमिकका पीडा आफूले नजिकबाट देखेको बताएका छन ।