जापान । एनआरएनए जापानको जुलाई ३० मा हुने निर्वाचनमा २३ पदका लागि ४९ जनाले भिडन्त गर्ने भएका छन्। यसैगरी चार वटा पदमा ४ जना निर्विरोध निर्वाचित भएका छन् ।
५३ जनाले उम्मेदवारी दर्ता गराएकोमा महासचिव पदका कमल बास्तोला, कोषाध्यक्ष पदका राकेश रुम्बा र रामबहादुर खड्का र युवा संयोजक पदका राजु भण्डारी सुनिलले उम्मेदवारी फिर्ता लिएसँगै चुनावी मैदानमा ४९ जना भिड़ने निश्चित भएको निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
युवा संयोजकमा भण्डारीले उम्मेदवारी लिएसँगै मुक्तिराज रेग्मी निर्विरोध निर्वाचित भएका छन् भने महिला सचिवमा चन्द्रा अधिकारी केसी, सह कोषाध्यक्ष महिलामा अन्जु भण्डारी र महिला संयोजकमा हेमा पाण्डेको मात्र एकल उम्मेदवारी परेकोले उनीहरूलाई पनि समितिले निर्विरोध निर्वाचित घोषणा गरेको हो ।
आइतबार हुने निर्वाचनका लागि अध्यक्ष १ पदमा चार जना, उपाध्यक्षमा ५ पदमा ८ जना, महिला उपाध्यक्ष १ पदमा २ जना महासचिब १ पदका लागि २ जना, सचिव ३ पदका लागि ६ जना, कोषाध्यक्ष १ पदका लागि २ जना, सह कोषाध्यक्ष १ पदका लागि २ जना, सदस्य ८ जनाको लागि १७ जना, महिला १ पदका लागि २ जना भिडन्तका लागि तयार भएका हुन् ।
उम्मेदवारी दिएका उम्मेदवारहरुले आफ्नो पक्षमा माहोल बनाउन अन्तिम प्रयास गरिरहेका छन् । एनआरएनए जापानको अध्यक्षमा नविन निउरे, रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी र संगीता अधिकारी सुवेदी आगामी कार्यकालको नेतृत्वका लागि तम्तयार भएका छन् ।
चारै जनाले आफ्नो जीत सुनिश्चित रहेको दावी गरेका छन । पत्रकार सम्मेलन मार्फत आफ्ना योजना र धारणा सार्वजनिक गरेका चारै जना मौजूदा कार्यसमितिको वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष रहेकोले कसको पल्ला भारी छ यसै भन्न नसकिने देखिएको छ ।