काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। त्रिभुवन विमानस्थलबाट अवैध रुपमा ल्याइएको करिब एक क्विन्टल सुन बाहिरिएको विषयमा पार्टीको धारणा बनाउन एमालेले दलको बैठक बोलाएको हो।
बैठक मध्यान्ह १२ बजे संघीय संसद भवनमा सुरु हुने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए। आज बस्ने संसदीय दलको बैठकले सुन तस्करीको बारेमा धारणा तय गर्ने गिरीको भनाइ छ।
उनले भने,‘पछिल्लो एक वर्षदेखि सुन तस्करी मौलाएको छ, सरकारका मन्त्रीको संलग्नाबिना यो कार्य हुनै सक्दैन यसमा हामीले संसदबाट चित्तबुझ्दो जवाफ माग्छौं।’
आज संसद चल्न दिनुहुँदैन भन्ने प्रश्नमा गिरीले भने,‘सरकार कसरी प्रस्तुत हुन्छ त्यही आधारमा हामी संसदमा प्रस्तुत हुन्छौं।’ संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
गत साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धान विभागले करिब एक क्यिन्टल सुन बरामद गरेको थियो। यस प्रकरणमा संलग्न भएको आरोपमा एक चिनिया र एक भारतीय सहित हालसम्म १६ जना प्रकाउ परिसकेका छन्।




