नेपालमा ढेंगुले उग्र रुप लिदैं, संक्रमितको संख्या ४ हजार नाघ्यो

काठमाडौं। देशभर डेंगी संक्रमितको संख्या ४ हजार नाघेको छ।इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हाल देशभर ४ हजार २ सय ८९ जना डेंगीका बिरामी रहेको जनाएको हो। महाशाखाका अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै दुई हजार ७ सय ५४ जना डेंगीका विरामी रहेका छन्।

त्यसमध्ये पनि धरानमा मात्रै विरामीको संख्या दुई हजार माथि रहेको छ।यस्तै, मधेश प्रदेशमा २२ जना,बागमती प्रदेशमा ७ सय ७६ जना, गण्डकी प्रदेशमा ३ सय ४४ जना,लुम्बिनी प्रदेशमा १सय ६६,कर्णाली प्रदेशमा २० जना र सुदूरपश्चिम प्रदेशमा ३ सय १६ डेंगीका बिरामी रहेका छन्।

डेंगीबाट दश वटा जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। १० जिल्लामा मात्र ३ हजार ६ सय ७१ बिरामी रहेका छन्। सुनसरी २ हजार ५ सय ४२, धादिङमा ४सय १, कास्कीमा २ सय५, दार्चुलामा१ सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४,म्याग्दी ५४, कञ्चनपुरमा ५२, रुपन्देहीमा ४५ र मोरङमा ३८ जना बिरामी रहेका छन् ।

निरन्तरको वर्षा, सरसफाइको बेवास्ता र लामखुट्टेबाट जोगिने उपाय नगर्दा डेंगी फैलिन क्रम तीब्र भएको हो। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले भदौ र असोजसम्ममा डेंगी संक्रमण उच्च हुने प्रक्षेपण गरेको छ। गत वर्ष डेंगीले महामारीकै रुप लिएको थियो।