एनआरएनए एनसीसी अमेरिकाको मतदान सकियो, ८२ प्रतिशत मत खस्यो

लपेन्सिलभेनिया,अमेरिका। गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद्(एनसीसी)अमेरिकाको आगामी कार्यकालका लागि भएको मतदान सम्पन्न भएको छ।

निर्वाचन आयोगकाअनुसार स्थानीय समयानुसार आइतबार बिहान दश बजे (न्यु योर्क समय) सम्म ८२ दशमलव ३१ प्रतिशत मत खरेको छ। एनआरएनए अमेरिकाको शनिवार बिहान आठ बजे देखि निर्वाचन सुरु भएको थियो।

एनआरएनए अमेरिकाको निर्वाचन पहिलो पटक फेस भेरिफिकेशन मार्फत गरिएको हो। कतिपय मतदाताले अन्तिम समय सम्म मत दिन नपाएको गुनासो सामाजिक सञ्जालमा गरेका थिए।

निर्वाचन आयोगले कुल १३ हजार ६ सय ९१ जनामा मताधिकार दिएको थियो। झन्डै १७ सय आजीवन सदस्य मतदानबाट वञ्चित भएका थिए। फेसभेरिफिकेशन पक्रियामा सहभागी नभएको कारण झन्डै १७ सय आजीवन सदस्य यस पटक मतदानबाट वञ्चित भएका हुन्।

निर्वाचन आयोगको पछिल्लो सूचना अनुसार ११ हजार दुई सय ६९ जनाले मतदान गरेका छन्। अन्तिम एक घण्टामा मात्र दुई सय सात जनाले मतदान गरेको आयोगको सूचनामा उल्लेख छ। निर्वाचन आयोगले केही समयमा नै नतिजा सार्वजनिक गर्ने उल्लेख गरेको छ।

एनसीसी, च्याप्टर र आइसिसी सदस्यका लागि दुई सय भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन्।आगामी कार्यकालका लागि अध्यक्ष पदमा डिलु पराजुली र डा.अर्जुन बन्जाडे प्रतिस्पर्धामा छन्। बन्जाडे पूर्व वरिष्ठ उपाध्यक्ष हुन्। उनी अघिल्लो पटकको चुनावमा अध्यक्ष पदमा नै पराजित भएका थिए।

यस्तै केन्टकी च्याप्टरको अध्यक्ष दुई कार्यकाल सम्हालेका पराजुली वर्तमान कमिटीको उपाध्यक्ष हुन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा अञ्जन चौलागाई र विकास उप्रेती आमान्ने सामुन्ने भएका छन्। वर्तमान कमिटीका उपाध्यक्ष विकास उप्रेती डा. बन्जाडे टिमका हुन। यस्तै वर्तमान महासचिव अञ्जन चौलागाई पराजुली टिमबाट चुनावी प्रतिस्पर्धा छन्।

खुल्ला उपाध्यक्षमा चार पदका लागि नौ जना चुनावी मैदानमा छन्।यस्तै महिला उपाध्यक्ष र युवा उपाध्यक्षमा पनि चुनाव हुँदै छ।

महासचिवमा रामहरि अधिकारी र गोपेन्द्र भट्टराई प्रतिस्पर्धामा छन्। न्यु योर्क च्याप्टरमा दुई कार्यकाल अध्यक्ष भएका अधिकारी अघिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित भएका थिए।

अघिल्लो निर्वाचनमा उपाध्यक्षमा विजयी भएका भट्टराई पद घटुवा हुँदै पुन महासचिवमा प्रतिस्पर्धा गर्न आएका हुन्। सन् २०१९ को निर्वाचनमा भट्टराई महासचिवमा पशुपति पाण्डे सँग पराजित भएका थिए।