काठमाडौँ। अवैध रूपमा भित्रिएको करिब १ सय किलो सुन प्रकरणमा थप ६ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३ जना भन्सार एजेन्ट र ३ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु रहेका छन्। पक्राउ पर्नेहरूमा भन्सार कर्मचारीहरू भन्सार अधिकृत सन्तोष चन्द, खरिदार जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरू सुदर्शन गौतम, यादव पराजुली र रुकमिना सुब्बा छन् ।
राजश्व अनुसन्धान विभाग स्रोतका अनुसार उनीहरुलाई सो प्रकरणमा संलग्नता देखिएको आधारमा नियन्त्रणमा लिइएको हो। असार ३० गते ‘रेडी ट्रेड्स’ले हङकङबाट ल्याएको सुन साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयबाट भन्सार जाँचपास भएको थियो। लगत्तै, राजश्व अनुसन्धान विभागले सिनामंगलबाट ट्याक्सी चालकसहित सुनसहितको ‘ब्रेक प्याड’ बरामद गरेको थियो ।
यता, राजश्व अनुसन्धान विभागको कमजोरीले हङकङबाट आउन लागेको ‘रेडी ट्रेड्स’को दोस्रो ‘सिपमेन्ट’ गायब भएको छ। क्याथे प्यासिफिक विमानको कार्गोबाट नेपाल पुगेको सामान विमानस्थल गेटबाट राजश्वको टोलीले समातेको सूचना बाहिरिँदा हङकङबाट नेपाल आउन लागेको ‘रेडी ट्रेड्स’को दोस्रो लटको सामान उतै गायब बनेको हो।
सुन आयातकर्ता ट्रेड्सले हङकङबाट दुई महिनामा पटक–पटक गरी झन्डै २ हजार किलोग्राम सामान आयात गरेको थियो। ट्रेड्स २०७९ साल चैतमा मात्रै स्थापना भएको र दर्ता भएदेखि नै हङकङबाट ब्रेक प्याड आयातमा सक्रिय रहेको उजागर भैसकेको छ।
बुढानीलकण्ठ नगरपालिका ठेगाना राखेर दर्ता भएको कम्पनीको अधिकृत पुँजी जम्मा २५ लाख रुपैयाँ छ।दोलखाका २१ वर्षीय दिलीप भुजेलको स्वामित्वमा रहेको यो कम्पनीले स्थापना भएको दुई महिनाको अवधिमै हङकङबाट २८ पटक सामान ल्याइसकेको थियो।
यसअनुसार कम्पनीले हङकङबाट थप सामान सिपमेन्टको तयारी गरेको अवस्थामा नेपालमा आफ्नो सामान पक्राउ परेको सूचना चुहिएपछि अर्को सिपमेन्ट नआएको विभागले नै स्वीकारेको हो।सुन तस्करी प्रकरणबारे सूचना चुहिनासाथ यसमा संलग्न व्यक्तिहरूले आफ्नो रणनीति बदल्न्ने गर्दछन्।