महोत्तरीमा डीएसपीमाथि आक्रमण, खुट्टा नै भाँचियो

काठमाडौ। महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि आक्रमण भएको छ। धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डीएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको हो।

घटना बिहीबार राति १० बजेको हो। महोत्तरीको जलेश्वर नगरपालिका २ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको जिलला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए।

उनका अनुसार डीएसपी यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ।‘११ बजे राति घाइते अवस्थामा रहेको हामीलाई थाहा भएपछि अस्पताल भर्ना गराएका थियौं’ डीएसपी गिरीले भने,‘अहिले उहाँको उपचार काठमाडौं स्थित प्रहरी अस्पतालमा भइरहेको छ।’

घटनास्थलमा बचाऊ…बचाऊ.. भन्दै डीएसपी यादवले गुहार मागेका थिए। उनी किन राति त्यहाँ पुगेका थिएए र के कारणले घटना भयो भन्ने खुलेको छैन। घटना रहस्यमय रहेको र प्रहरीले लुकाउन खोजेको बुझिएको छ।

घटनाको छानबिन गर्न मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले एसपी महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्य समिति गठन गरेको छ। टोली शनिबार घटनास्थल पुगेर निरीक्षण समेत गरेको थियो।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका छानबिन टोलीका संयोजक एसपी श्रेष्ठले छानबिन गरिरहेकाले अहिले केही भन्न नमिल्ने बताए ।