काठमाडौं। झण्डै एक सय किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन्। एक–एक जना भारतीय र चिनियाँ नागरिकसहित १० जना पक्राउ परेका हुन्। राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा कार्गो र कुरियर सेवा दिने कम्पनीका सञ्चालक पनि छन्।
विभागका महानिर्देशक नवराज ढुङ्गानाले जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो। पक्राउ परेका कार्गो तथा कुरियर सेवा दिने कम्पनीका तीन जना सञ्चालकहरूको नाम भने विभागले सार्वजनिक गरेको छैन ।
अवैध सुन प्रकरणमा पक्राउ परेका १० जनामध्ये छ जनालाई उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ। चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गरिने विभागले जनाएको छ। यो प्रकरणमा चिनियाँ र भारतीय नागरिक पक्राउ परेसँगै चीनदेखि भारतसम्मको गिरोह सक्रिय रहेको खुलेको छ।
नेपाली गिरोह पत्ता लगाउन अनुसन्धान भइरहेको छ। नेपाली मुख्य नाइके खोज्न अनुसन्धान भइरहेको राजस्वका अधिकारीहरूको भनाइ छ। भन्सार विभागले सुन जाँचपासका क्रममा कर्मचारीको संलग्नता र घटनाका विषयमा छानबिन गर्न विभागका निर्देशक मानबहादुर पौडेलको संयोजनमा ६ सदस्यीय समिति बनाएको छ। प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ ।
अर्थ मन्त्रालयले विमानस्थल भन्सारका जाँचपास अधिकृत रमेश चन्द र जाँचकी खरिदार कुमार ढकाललाई निलम्बन गरिसकेको छ। बरामद सुन भने राष्ट्र बैंकको टक्सार विभागमा परीक्षण गरेर राष्ट्र बैंकको ढुकुटीमा पठाइएको छ। भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले अस्ति बुधवार राति हङकङबाट ल्याइएको झण्डै एक सय किलो सुन सिनामङ्गलमा बरामद गरेको थियो ।