अवैध सुन प्रकरणः चिनियाँ नागरिकसहित थप २ जना पक्राउ

काठमाडौं। सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दियो।

उनी नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।उनीसँगै सुन तस्करी प्रकरणमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन्।

यसअघि मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो।

राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको थियो। राष्ट्रबैंकले ती ब्रेक सु जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभागले जनाएको छ।