वञ्चरेडाँडा फोहोर व्यबस्थापनमा जारी अबरोध हट्यो, काठमाडौंमा फोहोर उठाउन सुरु

काठमाडौं। काठमाडौं उपत्यकाको फोहर ढुवानीमा भइरहेको अवरोध हटेको छ। सहरी विकास मन्त्रालयसँग नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासिन्दाको छलफलमा मौखिक सहमति भएसँगै आन्दोलन रोकिएको हो।

सहमति अनुसार फोहर व्यवस्थापन भइरहेको सिसडोल र बञ्चरेडाँडामा दुर्गन्ध फैलिन नदिन फोहरलाई माटोले छोप्ने तथा औषधि छर्कने काम भइरहेको छ। गएरातिदेखि नै दुर्गन्ध हटाउने र फोहर छोप्ने काम भइरहेको हो।

यो काम आज सकिए आजैदेखि फोहर बोकेका गाडी बञ्चरेडाँडा जान पाउने ककनी गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष पदमबहादुर श्रेष्ठ बलामीले उज्यालोलाई जानकारी दिनुभयो।

फोहरका कारण दुर्गन्ध फैलिँदा र झिँगा भन्किँदा स्थानीयबासिन्दा आक्रोशित भएका थिए। फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेका थिए। दुर्गन्ध हटाइ फोहर छोप्ने सहमति भए पछि स्थानीय बासिन्दाले आन्दोलन रोकेका हुन्।

यसअघि पनि काठमाण्डौ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग दुर्गन्ध हटाएर फोहर छोप्ने सहमति भएको थियो।तर,त्यो कार्यान्वयन नभएको भन्दै गएको १ गतेदेखि स्थानीय बासिन्दाले आन्दोलन थालेका थिए। बञ्चरेडाँडा नुवाकोट र धादिङको सिमानामा पर्छ।

काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ। फोहर बोकेका गाडी ल्याण्डफिल्ड साइट जानबाट रोकिए पछि काठमाण्डौमा एक हजार टन भन्दा धेरै फोहर थुप्रिएको छ ।