कांग्रेस केन्द्रिय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक आज मंगलबार बस्दै छ। पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ। एक वर्षपछि बस्न लागेको बैठकको लागि विभिन्न १० एजेण्डा तय गरिएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले मंगलबार बस्ने केन्द्रिय कार्यसमिति बैठकको एजेण्डा तय गरेको हो ।

बैठकमा पहिलो एजेण्डाको रुपमा समसामयिक विषय रहने र त्यसभित्र राजनीतिक, आर्थिक, सामाजिक, परराष्ट्र र सुशासनसँग सम्बन्धित विषयहरुमा छलफल हुनेछ । बहुचर्चित ललिता निवस जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी काण्ड र त्यसमा मुछिएर कारागार पुगेका पूर्वमन्त्री बालकृष्ण खाँणको विषयलाई भने कांग्रेसले छलफलको एजेण्डा बनाएको छैन ।

यसैगरी बैठकमा सांगठनिक कार्ययोजना र कार्यतालिका प्रस्तुत हुनेछ भने कार्यसम्पादन समितिले गरेका निर्णयहरु अनुमोदनको प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन पेश र पार्टीको नीति अधिवेशनसँग सम्बन्धित खाका पनि प्रस्ताव गरिनेछ ।

केन्द्रिय कार्य समिति बैठकमा विभाग गठनको प्रस्ताव, पार्टीले सञ्चालन गर्ने राष्ट्रवादी अभियानको खाका प्रस्तुत, अनुशासन समितिको प्रतिवेदन पेश गर्ने एजेण्डा पनि रहेको छ ।

अरु एजेण्डाहरुमा पार्टीले प्रतिनिधि सभामा खेलेको भुमिकाको सन्दर्भमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराउने र उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको गतिविधिहरुको सम्बन्धमा बैठकलाई जानकारी गराउने छन् ।