एमाले नेता एवं पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

काठमाडौं। नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका पूर्वभूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् ।यादवलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको हो ।

गत माघ १० गते रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई उनले १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक दिएका थिए । तर खातामा पैसा नभएपछि विजयबहादुर यादवविरुद्ध चेक बाउन्सको मुद्दा परेको थियो ।

मुद्दा दर्तापछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।विजयबहादुर २०७४ को निर्वाचनमा बाँकेको प्रदेशसभा निर्वाचन क्षेत्र २ ‘१’बाट जसपाबाट निर्वाचित भएका थिए । तर पछि उनी लुम्बिनी प्रदेश सरकारमा पार्टीको निर्देशनविपरीत सहभागी भएको भन्दै कारपाहीमा परेका थिए ।

जसपाले कारबाही गरेपछि भने उनी गत चुनावअघि एमालेमा प्रवेश गरेका थिए ।गत मंसिरमा भएको निर्वाचनमा एमालेबाट प्रदेश सभामा प्रतिस्पर्धा गरे पनि उनी जसपाका भण्डारीलाल यादवसँग पराजित भएका थिए ।