नजिकिँदै एनआरएनए निर्वाचन, माहौल बनाउँदै शर्मा यूरोपमा

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औँ विश्व सम्मेलन आउन अझै करिब ३ महिना बाँकी छ ।नेतृत्वका आकांक्षीहरुले आफ्नो पक्षमा माहोल बनाउन तयारी थालिसकेका छन् । हाल एनआरएनए अन्तरगतका विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)को निर्वाचन चलिरहँदा आकांक्षीहरु माहोल बनाउन लागिपरेका हुन् ।

त्यसका लागि एनआरएनएको नेतृत्वको आकांक्षीसहित अन्य पदको आकांक्षी रहेका एनआरएनए अभियन्ताहरुले सक्रियता बढाएका हुन् । एनआरएनएको नेतृत्व मध्यपूर्वले पाउनुपर्ने भन्दै लबिङ गरिरहेका उपाध्यक्ष आरके शर्मा यतिबेला यूरोपका विभिन्न देशको कार्यक्रममा व्यस्त छन् ।

मध्यपुर्व सम्मेलन अत्यन्तै सफलतासहित सम्पन्न गरेपछी शर्मा र मध्यपुर्व संयोजक मनोज गोर्खाली युरोपका विभिन्न देश पुगेका हुन । अध्यक्षका एक सशक्त दाबेदार उनी गत असार २२ गतेदेखि यूरोपमा सक्रिय रहेका हुन् ।

यूरोपयात्राका क्रममा उनी डेनमार्क, लक्जेम्बर्ज, स्पेनमा आयोजित एनआरएनएको कार्यक्रममा सहभागी भएका छन् । गैरआवासीय नेपाली अभियानलाई निरन्तरता दिने क्रममा आफू युरोप यात्रामा निस्किएको शर्माले बताए । आगामी अक्टोबरमा एनआरएनएको एकताको महाधिवेशन हुँदैछ ।

त्यसका लागि हालसम्म शर्मासहित अर्का उपाध्यक्ष महेश श्रेष्ठले पनि आकांक्षा देखाएका छन् । यस्तै वर्तमान अध्यक्ष बद्री केसी समेत हालसम्म नखुलेपनि फेरि दोहोरिने रणनीतिमा रहेको एनआरएनए वृत्तमा चर्चा छ । शर्मा र श्रेष्ठले अवको केही दिनमै आफ्नो प्रतिबद्धतासहित उम्मेदवारी दिने घोषणा गरिसकेका छन ।