अमेरिका। नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वार दिनुभएका प्रत्यासीहरूसँग आउँदो जुलाई १६ मा बहस कार्यक्रमको आयोजना गरेको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्को निर्वाचन समितिले उम्मेद्वारहरूको अन्तिम नामावली सार्वजनिक गरेसँगै संघको आसन्न निर्वाचनमार्फत नेतृत्वका लागि प्रत्याशी बन्नुभएका डा.अर्जुन बञ्जाडे र डिलुकुमार पराजुलीसँग नेजाले मेरिल्यान्ड राज्यको बाल्टिमोर सहरमा नेजा-एनआरएनए प्रेसिडेन्सियल बहस कार्यक्रमको आयोजना गरेको हो ।
अध्यक्षका प्रत्यासीहरूलाई एक ठाउँमा उभ्याएर अमेरिकामा रहेका एनआरएनहरूका नेता तपाईंलाई किन बनाउने र तपाईं नै अध्यक्ष बन्नुपर्ने कारण के भनेर सार्वजनिक बहसमा खरो प्रश्न सोध्ने थलोको रूपमा नेजा-एनआरएनए बहस रहने गर्छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका, अमेरिकामा रहेका एनआरएनहरूको प्रतिनिधित्वसमेत गर्ने संस्था भएकाले संघले आफ्नो नेता कस्तो बन्नुपर्छ भनेर सार्वजनिक बहसमार्फत यसलाई अगाडि ल्याउनुपर्छ भन्ने हिसाबले नेजा-एनआरएनए बहस कार्यक्रम व्यवस्थापनमा एनआरएनए अमेरिकाले नेजासँग सहकार्य गर्दै आएको छ ।
नेजा-एनआरएनए प्रेसिडेन्सियल बहस विगत केही वर्षदेखि हुँदै आएको छ । बहस कार्यक्रम बाल्टिमोरमा रहेको होलिडे इन एक्सप्रेसमा जुलाई १६, आइतबार अपराह्न २ देखि ५ बजेसम्म सञ्चालन हुनेछ ।




