ललिता निवास जग्गा प्रकरणः सञ्चार मन्त्रालयका सचिव राउत पक्राउ

काठमाडौं। ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएको आरोपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ। उनी विराटनगर जानका लागि बोर्डिङ पास लिएर विमानस्थलभित्र बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा गर्ने क्रममा राउतको पनि संलग्नता देखिएको भन्दै सीआईबीले उनीविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

योसँगै ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर शाहसहित १२ जना पक्राउ परेका छन् । यस प्रकरणमा चार सय जनाभन्दा बढीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।