झट्ट सुन्दा एनआरएनएलाई राजनीतिले विकृत बनायो, पङ्गू बनायो, यो संस्था राजनीतिमुक्त हुनुपर्छ भन्ने भाषण सबैलाई राम्रै लाग्छ!तर, चर्को स्वरमा यस्तो भाषण गर्नेको अनुहार केलाएर हेर्नुभो भने सजिलै देख्नुहुन्छ, एनआरएनएमा राजनीति घुसाउनेहरू खासमा तिनै हुन्, गर्ने पनि तिनै हुन्! भागबण्डा हुनुहुन्न भन्नेहरू पनि तिनै हुन् र पद बाँडेर लिने पनि तिनै हुन्! केहीलाई पद चाहिन्छ तर केहीलाई पदसँगै लोकप्रियता र अटेन्शन पनि चाहिन्छ । जबर्जस्ती घुसेर, बाँडेर खाने अनि पेट भरिएपछि भतेरको विरोध गरेर चर्चा पनि खाने अचम्मको आडम्बर त्यहाँ देख्न पाइन्छ।
मूलतः यी चर्चेबाजहरू दुई थरी गुटका छन् । एउटा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन जनसम्पर्क समिति छ भने अर्को नेकपा एमालेको प्रवासी नेपाली मञ्च ।
यिनकै उपगुट र अरू पनि एकाध दलका पसल त छन् तर संस्थाको सङ्घर्ष, लगाम र कुर्सी यिनकै हातमा छ । एनआरएनए मात्रै होइन, नाम सुने र देखेजति हरेक संस्थामा यिनैको घूसपैठ हुन्छ र सानोदेखि ठूलो हरेक चुनाबमा यी उग्र सक्रिय हुन्छन् । सके त आफ्नै दलबहादुरलाई सर्वसम्मत बनाउने, त्यो नसकिए उठेका हरेक उम्मेद्वारको जन्मकुण्डली केलाउने र तिनमा हनुमानको मात्रा अनुमान गरी काँध थापेर पारि लैजाने तिनको पेशा हुन्छ ।
अझ जिताउने भन्दा पनि अलि स्वतन्त्र देखिने या अर्को गुटको व्यक्तिलाई कसरी हराउने भन्ने चिन्ता यिनको दैनिकी हो।
प्राक्टिकल नै गर्न मन लागे पनि, एउटा संस्था खोल्नुस् । फेसबुकमा फल्नो दिन यो रेस्टुरेन्टमा चुनाब छ भनेर लेख्नुस् र बाँकी रमिता आफै हेर्नुस्। ती चर्चेबाज तपाईंभन्दा पहिल्यै हाजिर हुन्छन् !
यसो ख्याल गर्नुस् त, सबैभन्दा बढ़ी खादामाला लगाएको फोटा तिनैका भेट्नुहुन्छ जसले टिकट महँगो भएर या नभ्याएर कुनै कार्यक्रममा पुगेनन् भने यस्तो खादामालाको कार्यक्रमले हो विकृति ल्याउने भनेर स्ट्याटस डाम्न भ्याउँछन्। आजीवन खादामालाको व्यापार गर्ने पनि तिनै अनि खादाले संस्था खायो भनेर ताली खाने पनि तिनै। तिनले मन्त्री र नेता भेट्दा के गर्छन् थाहा भएन, तर फेसबुकमा फोटो टाँसेर गम्भीर सल्लाह दिएको सुनाउन भ्याइहाल्छन्। तर, तिनले फोटो खिच्ने अवसर या संयोग जुरेन भने जसले खिच्छन् तिनको अन्य कुनै काम र उपलब्धि नभएको ज्ञान तपाईंलाई बाँडिहाल्छन् ।
रोचक त के छ भने तपाईंसँग कुनै दलको सदस्यता छैन र गैरराजनैतिक संस्थामा केही गर्छु भनेर तपाईं चुनाबमा उठ्नुभो भने तपाईंलाई हराउने ठेक्का तिनले लिइहाल्छन्। तपाईंलाई आफूखुसी अर्को दलको सदस्यता पनि बाँडिदिन्छन्।
तपाईंले फेसबुकमा तिनका नेतालाई गरेको टिप्पणी कटिङ् गर्छन्, सर्कुलर गर्छन् र तपाईं खासमा पिउसो नै भए पनि फल्नोले जित्यो भने त पार्टीको धरहरा नै ढल्छ जस्तो गरी प्रचार गर्छन्।
अर्को वर्ष ङिच्च दाँत देखाउँदै तिनै व्यक्ति संस्थामा राजनीति भयो, यसको शुद्घीकरणका लागि मेरो उम्मेदवारी आवश्यक भयो भन्दै तपाईंसँगै भोट माग्न आउँछन्। अझ, खास मलाई उठ्ने रहर त होइन, तर संस्थाको यो बिजोग देख्न नसकेर सबैको जोडबलमा यसो उभिएको छु भन्न भ्याउँछन्। के तपाईंले यस्ता सदावहार व्यक्ति भेट्नुभएको छ ? अब डुब्नै लागेको संस्था जोगाउन र तपाईंको कल्याण गर्नकै लागि आफ्नो सर्वश्व छोडेर उभिएको त्यस्तो व्यक्तिलाई भोट दिएर संस्थाको शुद्धीकरण कसरी नगर्नु त !