बलात्कार अभियोगमा फुटबलर अल्भेज १२ वर्ष जेल जान सक्ने

काठमाडौं। स्पेनिस पूर्वखेलाडी ड्यानी अल्भेज एक महिलामाथिको बलात्कार अभियोगमा गत जनवरीदेखि जेलमा छन् । ४० वर्षीय अल्भेजले बार्सिलोनाको एक सुटोन क्लबमा कार्यरत महिलामाथि ट्वाइलेटमा बलात्कार गरेको आरोप छ । महिलाले आफूमाथि बार्सिलोना र स्पेनिस राष्ट्रिय टोलीका पूर्वखेलाडीले बलात्कार गरेको मुद्दा गर्दा गरेपछि उनलाई पक्राउ गरेको थियो ।

बार्सिलोनाको एक उच्च अदालतमा यो मुद्दा चलिरहेको छ। बलात्कार मुद्दा दर्ता गरेकी २३ वर्षीया महिलाले अल्भेजले बारम्बार बलात्कार गरेको प्रहरीसमक्ष बयान दिएकी थिइन्। हाल यस मुद्दासम्बन्धी सुनवाइ भएको छैन।आगामी अक्टोबर र नोभेम्बरमा अल्भेजको बलात्कारसम्बन्धी मुद्दाको पैmसला हुन सक्छ । स्पेनिस पत्रिका मार्काका अनुसार अल्भेज दोषी ठहरिए कम्तीमा १२ वर्ष जेल सजाय भोग्नुपर्नेछ।

अल्भेजले धरौटीमा रिहा हुन राखेको निवेदन पनि अदालतले अस्वीकार गरेपछि उनी थप समस्यामा परेका हुन्। बार्सिलोनाको उच्च अदालतका न्यायाधीशहरूले अल्भेजलाई धरौटीमा रिहा गर्दा उनी देश छाडेर ब्राजिल जान सक्ने जनाएका छन्।

स्पेन छाडेर सधैँका लागि ब्राजिलमा अल्भेज जाँदा एक महिलामाथि अन्याय हुने जनाउँदै न्यायाधीशहरूले अल्भेजको धरौटी माग अस्वीकार गरेका हुन् । यद्यपि, अल्भेजले आफू निर्दोष रहेको बताए पनि महिलाले प्रस्तुत गरेको प्रमाण बलियो देखेको मार्काले जनाएको छ। अल्भेजले एक अन्तर्वार्तामा आफूमाथि मुद्दा लगाउने महिलालाई कहिल्यै नदेखेको र नभेटेको दाबी गरेका छन्।

ती महिलाले अदालत र प्रहरीसमक्ष झुटो प्रमाण पेस गरेको अल्भेजको भनाइ छ। अल्भेजले पछिल्ला घटनालाई लिएर श्रीमतीसँग एकपटक माफी माग्न चाहेको बताए।‘मेरी श्रीमतीसँग मैले अहिलेसम्म गरेका नराम्रा कामको माफी माग्न चाहन्छु,’आत्मालोचना गर्दै अल्भेजले भनेका छन्, ‘मैले जेलमै उनीसँग माफी मागेको थिएँ।’