एजेन्सी, रुसमा वाग्नर समूहले विद्रोहलाई स्थगित गरेको छ।वाग्नरका प्रमुख येभगेनी प्रिगोजिन रुस छाडेर बेलारुस प्रस्थान गरेका बीबीसीले जनाएको छ।
यसअघि सरकारले सेनाविरुद्धको अपराधमा मुद्दा चलाएकोमा अब मुद्दा फिर्ता लिने पनि खबरमा उल्लेख छ। थप रक्तपात हुन नदिने भन्दै वाग्नर समूह राजधानी मस्को प्रवेश नगरि फर्किएको हो।प्रिगोजिनका समर्थकहरू गएराति रोस्तोभबाट फिर्ता भएका छन्।
भाडाको यो सैन्य समूह वाग्नरले सबै कार्यक्रमलाई फिर्ता लिएको छ।बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले येभगेनी प्रिगोजिनसँग कुराकानी समेत गर्नुभएको छ। हिजो वाग्नर समूह हातहतियारसहित मस्कोतर्फ अगाडि बढिरहेको थियो।
योसँगै मस्कोको सुरक्षा व्यवस्था कडा पारिएको थियो भने राष्ट्रपति भ्लादिमिर पुटिनले यो समूहलाई रोक्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिनुभएको थियो। रूसले वाग्नर लडाकु समूहलाई आत्मसमर्पण गर्न आग्रह समेत गरेको थियो।