काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम बहादुर चलाउनेले आजदेखि अनसन फिर्ता लिने भएका छन् । आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिएको विरोधमा पाँच दिनदेखि अनसनमा बस्दै आएका थिए ।
सर्वोच्च अदालतले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि अनसन फिर्ता लिन लागेका हुन् । मुद्दा फिर्ता लिने निर्णयको विरोध गर्दै असार ३ गतेदेखि त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बसेका थिए ।
सर्वोच्चको आदेशपछि आज दिउँसो १ बजेदेखि अनसन फिर्ता लिन लागेको चलाउनेले बताए । जेठ ३० गते बसेको मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा दर्ता भएको मुद्दा फिर्ता लिने निर्णय गरेको थियो । त्यसको विरुद्धमा उनी आमरण अनसन बस्दै आएका थिए ।
मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै उनी सर्वोच्च पुगेका थिए । २० असोज २०७७ मा नेविसंघका त्रिवि जिल्ला अध्यक्ष हरि आचार्य, सचिव योगेन्द्र रावल लगायतको समूहले उनीमाथि आक्रमण गरेको थियो ।