काठमाडौं। एक दिवसिय विश्वकप क्रिकेटको छनौट प्रतियोगितामा बिहीबार नेपालले वेष्ट इन्डिजको सामना गर्नेछ। दुईपटकको एकदिवसीय तथा टी–ट्वेन्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग नेपालले पहिलो पटक खेल्न लागेको हो। जिम्बावको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बजे यो खेल सुरु हुनेछ ।
वेस्ट इन्डिजले आइसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधी जितेको थियो। यसपटक भने वेष्ट इन्डिज नेपालसँगै छनौट प्रतयोगिता खेल्दछ । प्रतियोगिताको पहिला खेलमा नेपाललाई जिम्बाबेले ८ विकेटले हराएको थियो। दोस्रो खेलमा भने नेपालले अमेरिकामाथि ६ विकेटको जित निकालेको थियो ।
नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग यही शनिबार खेल्दैछ।प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, जिम्बावे,वेस्ट इन्डिज,नेदरल्यान्ड्स र अमेरिका रहेका छन् भने उता, समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्याण्ड, ओमान र युएई रहेका छन्।
समूहका शीर्ष ३ टोलीहरु सुपर सिक्समा प्रवेश गर्नेछन्।सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन्।सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।
१३ राष्ट्र सहभागी विश्वकप सुपर लिगको शीर्ष ८ मा रहि विश्वकप आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, दक्षिण अफ्रिका र अफ्गानिस्तान सिधै विश्वकपका लागि छनोट भईसकेका छन् ।