कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वले दिए जनप्रतिनिधीलाई बजेटबारे मार्ग निर्देशन

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी वर्षको बजेट तथा कार्यक्रमका प्राथमिकता विषयमा मार्गदर्शन प्रदान गरेका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयबाट‘स्थानीय तहको बजेट तथा कार्यक्रमको प्राथमिकता’ शीर्षकमा जुम मिटिङमा आफ्ना अवधारणा राखेका हुन्।उक्त बैठकमा पार्टीका महामन्त्रीद्वय थापा र शर्मा,सूचना,संचार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मा र पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलको सहभागिता थियो।

महामन्त्री थापाले नेपाली कांग्रेसको संकल्प स्थानीय तह निर्वाचन–२०७९ मा उल्लेखित भएको (सबल स्थानीय सरकारः समुन्नत गाउँ,समुन्नत नगर)भन्ने मूल नाराका साथ समावेश भएका विषयहरु शिक्षा,स्वास्थ्य,प्राकृतिक श्रोत,वन तथा वातावरण,रोजगार,स्थानीय पूर्वाधार,कृषि रोजगारी उद्यम,सेवा प्रवाह, वित्तिय अनुशासन लगायत विभिन्न विषयहरुमा स्थानीय तहको आगामी वजेट निर्माण गर्दा समावेश गर्ने सम्बन्धमा आफ्नो धारणा राखेका थिए।

महामन्त्री शर्माले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधि बीचको सम्बन्ध, नागरिकसँगको सहकार्य, पारदर्शीता र जवाफदेहिता, सामाजिक रुपान्तरण तथा स्रोतको समुचित व्यवस्थापनका वारेमा आफ्नो विचार राखेका हुन्।

साथै, सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वकर्माले विकास र सुशासन सँगसँगै जानुपर्ने तथा जनप्रतिनिधिको कार्यशैली र व्यवहार सरल हुनुपर्ने धारणा राखे। उक्त कार्यक्रमको सहजीकरण प्रताप पौडेलले गरेका थिए।