तनहुँमा पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु

काठमाडौं। तनहुँको म्याग्दे गाउँपालिका–१,गुणादीमा साँझ पहिरोमा पुरिएर घाइते भएका दुईजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा झापाको शिवसताक्षी नगरपालिका–७ मा बस्दै आएका ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ मा बस्दै आएका ४० वर्षीय बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

भीमको उपचारका क्रममा दमौली अस्पतालमा र बलबहादुरको पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।अर्का घाइते झापाको शिवसताक्षी–७ बस्ने ४५ वर्षीय कृष्ण लिङदेनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ।

उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत सडकछेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीनजना घाइते भएका थिए।