देशभरि रोकियो हिन्दी फिल्म‘आदिपुरुष’को प्रदर्शन

काठमाडौं। सोमबारबाट काठमाडौं महानगरपालिका मेयर बालेन साहले आफ्नो नगरपालिका भित्र भारतीय फिल्मको प्रदर्शनीमा रोक लगाए । भारतीय फिल्म आदि पुरुषमा सिता भारतकी छोरी हुन भन्ने आशयको सम्बाद विश्वव्यापी रुपमा प्रदर्शन भएको आदिपुरुषबाट नहटाएको भन्दै उनले सोमबारबाट काठमाडौंमा भारतीय फिल्म प्रदर्शनमा रोक लगाएका हुन् ।

काठमाडौंमा आदिपुरुष चल्न नदिएपछि फिल्मका वितरकहरुले देशभरी नै सोमबारबाट भारतीय फिल्म आदिपुरुषको प्रदर्शनी रोकेका छन् । फिल्मलाई सेन्सर बोर्डले सम्बन्धि दृष्य काटेर पास गरेको अबस्थामा स्थानीय निकायले रोकेको भन्दै आफुहरुले देशभरी नै यो फिल्मको प्रदर्शनी रोकेको वितरकहरुले बताएका छन् । मेयर बालेन साहको आदेश बिरुद्ध आफुहरुले न्यायको लागि अदालतमा मुद्धा दायर गर्ने पनि वितरकहरुले बताएका छन् ।

यो फिल्मलाई नेपालमा मनोज राठी समुहको व्यंकटेस इन्टरटेनमेन्टले नेपाल ल्याएको हो । यो समुहले सोमबार एक विज्ञप्ती जारी गर्दै फिल्म आदिपुरुष प्रदर्शन रोकिएको जनाएको छ, ‘का.म.न.पाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा गरेको अभिव्यक्तिको आधारमा उपत्यका हल व्यवसायीले शान्ति सुरक्षाको कारण देखाएर प्रदर्शन स्थगित गरेको कारण तथा देशका विभिन्न नगरपालिकाका मेयरहरुले पनि बन्दको आदेश दिएका कारण प्रदर्शन बन्द भएको व्यहोरा अवगत गराइन्छ ।’

आईतबार नै पोखरा महानगरका मेयर धनराज आचार्यले पनि पोखरामा सोमबारबाट यो फिल्मको प्रदर्शनमा रोक लगाएका थिए । यस्तै सोमबारबाट धरानका मेयर हर्क साङपाङले पनि यो फिल्मको प्रदर्शनमा धरानमा रोक लगाएका छन् । यता वितरकहरुले अदालतबाट निर्णय ल्याएर यो फिल्मको प्रदर्शनी सुचारु गर्ने बताएका छन् ।