अमेरिकाको लसएन्जल्समा महापुराण लगाईने, दिनबन्धु पोखरेलले कथावचान गर्ने

अमेरिका। अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा शिव महापुराण लगाईने भएको छ। लस एन्जल्समा रहेको श्री पशुपतिनाथ फाउण्डेशन,युएसएको अगुवाईमा लस एन्जल्स क्षेत्र वरपर सक्रिय विभिन्न नेपाली संघ संस्थाहरुको सहकार्यमा आउँदो जुलाई ९ देखि १५ सम्म शिव महापुराण लगाईने भएको हो।

महापुराणमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथावचान गर्ने आयोजकले जानकारी गराएका छन्। लसएन्जल्स काउन्टी अन्तर्गत नरवाक शहरमा रहेको श्री पशुपतिनाथ तथा बुद्व मन्दिरमा महापुराण आयोजना हुनेछ ।

लस एन्जल्स आध्यात्मिक महोत्सव समेत समावेश गरिएको महापुराणको तयारी तिव्र गतिमा अघि बढेको श्री पशुपतिनाथ फाउण्डेशनका सचिव डिल्ली (सिद्दार्थ) सिलवालले जानकारी दिनुभयो। महापुराण आयोजनाका लागि फाउण्डेशनका निवर्तमान अध्यक्ष मुकुन्द ढुंगानाको संयोजकत्वमा मूल समारोह समिति बनाईएको आयोजकले जानकारी दिएका छन्।

यस्तै, समाजका अग्रज व्यक्तित्व बेद भक्त जोशी तथा नेपाल सरकारका अवैतनिक महावाणिज्यदुत रिषी ढकाल रहेको सल्लाहकार समिति बनाईएको बताईएको छ ।सामुदायिक भवनको परिकल्पनालाई साकार पार्न आर्थिक सहयोग जुटाउन महापुराणको आयोजना गरिएको जनाउँदै फाउण्डेशनका अध्यक्ष रामेश्वर भण्डारीले सबैको साथ र सहयोग त्यो कार्य संभव हुने जनाउनुभयो ।

उहाँले मन्दिर निर्माणले हिन्दु धर्मालम्बीहरु त्यसमा पनि नेपालीहरु लाभान्वित भएको जनाउँदैं नेपाली संस्कृतिको जर्गेना गर्दै पुस्तान्तरणका लागि सामुदायिक भवनको महत्व रहने बताउनुभयो ।नियमित पुजाका साथै धार्मिक तथा सांस्कृतिक महत्वका कार्यक्रम मन्दिरमा आयोजना हुनुका साथै हरेक आईतवार नेपाली पाठशाला संचालन हुँदै आएको छ ।