काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले क्यानडामा हुने ग्लोबल टी–२० खेल्ने भएका छन्।
गएराति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले र दीपेन्द्रलाई मोन्टेरियल टाईगर्सले अनुबन्ध गरेको हो। सुरेमा सन्दीपसँगै एलेक्स हेल्स, लिन्टन कुमार दासलगायत खेलाडी रहेका छन्। दीपेन्द्र आबद्ध मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे रसेललगायत छन्।
सन्दीपले यसअघिका दुवै सिजनको ग्लोबल टी–२० लिग खेलिसकेका छन्। ग्लोबल टी–२० खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन्। यसअघि सन्दीप र सोमपाल कामीले यो लिग खेलिसकेका छन्।
यो लिग आउने जुलाइ २० तारिखदेखि सुरु हुनेछ। ग्लोबल टी–२० लिग सन् २०१८ देखि सुरु भएको हो। सन् २०१९ मा दोस्रो संस्करण भएयता यो प्रतियोगिता सञ्चालन हुन सकेको थिएन।