राजदूत आचार्यद्वारा आयरल्यान्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

लन्डन। बेलायतका साथै आयरल्यान्डका समेत राजदूत रहेका बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आयरल्यान्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

डब्लिनस्थित राष्ट्रपति भवनमा बिहीबार आयोजित विशेष समारोहमा राष्ट्रपति माइकल डी हिगिन्ससमक्ष राजदूत आचार्यले ओहोदाको प्रमाणपत्र पेस गरेको दूतावासले जनाएको छ।

ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपतिले राजदूत आचार्यलाई आयरल्यान्डका लागि नेपालको राजदूतमा नियुक्ति भएकोमा बधाई दिँदै सफल कार्यकालको कामना गरेका थिए। साथै दुई देशबीचको विद्यमान मित्रताको सम्बन्ध निरन्तरता र थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए। उक्त समारोहमा राजदूत आचार्य र आयरल्यान्डका राष्ट्रपतिबीच भेटवार्ता भएको थियो।

राजदूत आचार्यले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को तर्फबाट राष्ट्रपतिको सन्देश सुनाएका थिए। सन्देशमा राष्ट्रपति तथा प्रधानमन्त्रीद्वारा आयरल्यान्डका राष्ट्रपतिको व्यक्तिगत सुस्वास्थ्य, सुख,शान्ति र समृद्धिको कामना गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आयरल्यान्डका जनताको निरन्तर प्रगति र समृद्धिको कामना गरिएको थियो।

राष्ट्रपति हिगीन्सले पनि नेपालका राष्ट्रपति र नेपाली जनताको निरन्तर शान्ति, संवृद्धि र हितको कामना व्यक्त गरेका थिए। राजदूत आचार्यले भूकम्प र कोभिड–१९ को महामारीका बेला आयरल्यान्डले पुर्‍याएको सहयोगको प्रशंसा गर्दै नेपालको पछिल्लो राजनीतिक, सामाजिक र आर्थिक विकास र वर्तमान सरकारका विकास प्राथमिकताका बारेमा अवगत गराएका थिए।

यसैगरी शिक्षा, सूचना प्रविधि र पर्यटनका क्षेत्रमा सहयोग अभिवृद्धि गरी नेपाल–आयरल्यान्ड सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल र सहमति भएको थियो। आयरल्यान्डमा रहेका नेपाली समुदायको योगदानका बारेमा पनि उनीहरुबीच छलफल भएको थियो।

सो अवसरमा राष्ट्रसङ्घीय शान्ति स्थापनामा नेपालको योगदान र जलवायु परिवर्तनका मुद्दालगायत दुवै देशका लागि महत्त्वपूर्ण क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूको विषयमा पनि छलफल भएको थियो।

सो अवसरमा आयरल्यान्ड सरकार र राष्ट्रपति कार्यालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो। राजदूत आचार्यसँगै उनकी धर्मपत्नी श्रीमती सुनिता आचार्य र दूतावासका द्वितीय सचिव रामबाबु नेपाल समेतको उपस्थिति रहेको थियो।